पाठ ३ करेसाबारी

पाठ ३
करेसाबारी
घरले चर्चेको र आँगनले ओगटेर बाँकी रहेको जग्गालाई करेसो भनिन्छ । करेसाबारी चाहिँ घरनजिकैको सानो जग्गामा विभिन्न प्रकारका तरकारी खेती गरिने बारी हो। व्यावसायिक तरकारी खेतीबाट बजारमा पठाइने तरकारी नै अहिले अधिकांश भान्सामा पाक्ने तरकारीको मुख्य स्रोत हो । व्यावसायिक ढङ्गले गरिने तरकारी खेतीमा रासायनिक मल, कीटनाशक औषधी प्रयोग गरिने हुँदा खानेकुरामा प्रयोग गरिने यस्ता रसायन सोझै हाम्रो शरीरमा भित्रिन्छन् । क्यान्सर, मिर्गौला र मुटु रोग जस्ता समस्या देखिनुको मुख्य कारण विषाक्त सागसब्जीको उपयोग पनि हो। त्यसैले विषादीरहित तरकारी सेवन गरेर स्वस्थ हुन करेसाबारीमा तरकारी खेती गर्नु जरुरी छ । भूगोल र मौसमअनुसार त्यस्ता बालीका विभिन्न प्रजाति करेसाबारीमा मिलाएर लगाउनुपर्छ । आफ्नै करेसाबारीमा ताजा, गुणस्तरीय र अर्गानिक तरकारी उत्पादन गरेर सजिलै पारिवारिक आवश्यकता पूरा गर्न सकिन्छ। हरियो तरकारी फलेको दृश्यले घरको सौन्दर्य वृद्धि हुन्छ र वातावरण पनि स्वच्छ बन्न पाउँछ । आफ्नै करेसाबारीमा ताजा तरकारी फलाउने अभियान हरेक घरबाट सुरु गर्नु उपयुक्त हुन्छ ।


करेसाबारीका लागि जमिनको रेखाङ्कन र व्यवस्थापन कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । करेसाबारीमा तरकारी खेती गर्दा खाली जमिनको सदुपयोग हुन्छ । यस्तो खेती गर्दा घरबाट निस्कने फोहोर पानी र प्राङ्गारिक वस्तुको पुनः प्रयोग हुन गई वातावरणीय सन्तुलनमा सहयोग पुग्छ । करेसाबारीका लागि छुट्याइएको जमिनमा पर्खाल वा बाँस लगाई बारबन्देज गर्नुपर्छ । निश्चित ठाउँमा खाडल खनी कम्पोस्ट मल बनाउनु उपयुक्त हुन्छ । नर्सरीका लागि पाहारिलो ठाउँ छुट्याउने, ससाना सुर्का बनाउने, सुर्काका बिचमा बाटो राख्ने जस्ता कार्य गरी जमिनको व्यवस्थापन गर्न सकिन्छ । करेसाबारीको छेउकु‌नाको बारबन्देज गरेको ठाउँमा लहरे तरकारी लगाउँदा थाँक्रा दिनु पर्दैन । त्यस्ता तरकारीहरू करेसाबारीकै बारमा पनि लहराउने सम्भावना रहन्छ । यसअन्तर्गत वर्षामा फर्सी, लौका, घिरौंला, करेला, बोडी आदि र हिउँदमा सिमी, केराउ आदि लगाएर मौसमअनुकूल फाइदा लिन सकिन्छ । सुर्काका आलीमा जरे तरकारी लगाउने, बिचका सुर्कामा मौसमअनुसारका उपयुक्त तरकारी लगाउने गर्नाले थोरै जमिनको धेरै उपयोग हुन जान्छ ।
करेसाबारीमा थोरै जग्गाबाट धेरै उत्पादन लिन प्रभावकारी रूपमा जमिनको व्यवस्थापन गर्नु आवश्यक हुन्छ । यसका लागि मुख्य बालीसँगै सहायक बाली उत्पादन गर्न सकिन्छ। एउटा मुख्य बाली भएको ठाउँमै तरकारी बाली रोपेर गरिने खेतीलाई घुसुवा बाली भनिन्छ । यसरी खेती गर्दा पहिले लगाएर हुर्किसकेको बाली हटाउने वेलासम्म अर्को नयाँ तरकारी बाली पनि तयार भइसकेको हुन्छ । एकै जातको वा फरक जातको भए पनि यदि एकै पटक उत्पादन हुने तरकारी छ भने त्यसलाई समय अगिपछि पारेर लगाउँदा नियमित रूपमा तरकारी उत्पादन हुने गर्छ। यसो गरियो भने कहिले खाएरै नसकिने धेरै तरकारी उत्पादन हुने र कहिले करेसाबारीमा तरकारी नै नहुने अवस्था रहँदैन । कम्पोस्ट खाडल खनेको वरिपरि मुला, गाजर जस्ता जरेबाली लगाउन सकिन्छ । खाडलको वरिपरि लहरे बाली लगाउँदा कम्पोस्ट मलको संरक्षण पनि हुन्छ । करेसाबारीमा लसुन, प्याज, पुदिना बाली लगाउँदा अन्य बालीलाई समेत विभिन्न किराको प्रकोपबाट जोगाउन सकिन्छ । यसरी समग्रमा बारबन्देज गरेको ठाउँमा लहरे तरकारी, ड्याङमा जरेबाली र बाटाको छेउछाउमा केराउ जस्ता कोसेबाली लगाउँदा ठाउँको समुचित प्रयोग र प्रभावकारी व्यवस्थापन हुन जान्छ ।
करेसाबारीमा खेती गर्नेले खेती प्रविधिसँग समेत परिचित हुनु जरुरी हुनाका साथै करेसाबारीमा रोपिने तरकारीको विविधताका बारेमा पनि त्यत्तिकै जानकारी हुनु आवश्यक छ । जमिनको तयारी गर्दा जमिनलाई राम्ररी खनजोत गरी माटो खुकुलो र बुर्बराउँदो पार्नुपर्छ । सम्भव भएसम्म जङ्गलको माथिल्लो तहको माटो प्रयोग गरी माटामा प्राङ्गारिक पदार्थको मात्रा बढाउन सकिन्छ । चिम्ट्याइलो माटो छ भने त्यसमा प्रशस्त रूपमा प्राङ्गारिक मलको मात्रा मिसाउनुपर्छ । खनजोत गर्ने क्रममा उक्त ठाउँमा रहेका बालीका अवशेषलाई माटामुनि पुरिदिँदा पछि सडेर बिरुवाका लागि खाद्यतत्त्व बन्न जान्छ । करेसाबारीमा रोपिने तरकारी एक थरी सिधै रोपिने र अर्का थरी नर्सरीमा बेर्ना तयार पारी रोपिने खालका हुन्छन् । सिधै लगाउन सकिने बालीमा बोडी, केराउ, मुला, गाजर, मेथी, पालुङ्गो, चम्सुर आदि हुन् । करेसाबारीमा रोप्ने बेर्ना तयार पार्न नर्सरीमा मौसमअनुसारको तरकारीका बिउबिजन रोप्नुपर्छ । बन्दा, काउली, गोलभेंडा, भन्टा, खुर्सानी, प्याज, रायो जस्ता तरकारीका बेर्ना नर्सरीमा तयार भएपछि करेसाबारीमा ल्याएर रोप्नुपर्छ। नर्सरीमा बिउ रोप्दा मसिनो आकारको बिउलाई धेरै पुर्नुहुँदैन । बालीको प्रकृतिअनुसार छापोले माथिबाट छोप्ने र बिरुवालाई तुसारो, वर्षा र तापक्रमबाट बचाउन उचित व्यवस्थापन गर्नुपर्छ ।
करेसाबारीमा खेती गर्न उपयुक्त हुने गरी मौसमका आधारमा तरकारीलाई हिउँदे, बसन्ते र बर्खे तरकारीका रूपमा पनि वर्गीकरण गरिन्छ । नेपालमा भदौदेखि असोजसम्म बिउ बेर्ना रोपेर कात्तिकदेखि माघसम्म उत्पादन लिन सकिने तरकारीलाई हिउँदे तरकारी भनिन्छ । यो समूहका तरकारी बालीको उत्पादन लिन चिसो मौसम र छोटो दिनको आवश्यकता पर्छ । पुसदेखि फागुनसम्म बिउ र बेर्ना रोपेर फागुनदेखि जेठसम्म उत्पादन लिन सकिने तरकारीलाई बसन्ते तरकारी भनिन्छ । वैशाखदेखि असारसम्म बिउ बेर्ना रोपी असारदेखि भाद्रसम्म उत्पादन लिन सकिने तरकारीलाई बर्खे तरकारी भनिन्छ । यो समूहका तरकारीमा लामो समयको वर्षा सहने गुण हुन्छ । यसो हुँदाहुँदै पनि हिजोआज बेमौसमी खेतीका कारण जुनसुकै मौसममा जुनसुकै तरकारीको खेती गर्ने चलन पनि चलेकै छ ।
करेसाबारीमा तरकारी खेती गर्दा मलखाद प्रयोग, सिँचाइ र गोडमेलमा विशेष ध्यान दिनुपर्छ । माटाको उत्पादकत्व र लगाइने बालीको प्रकृतिअनुसार मलको प्रयोग गर्नुपर्छ। पात टिपेर खाने तरकारी रायो, स्विसचार्ड, पालुङ्गो, बन्दा, ब्रोकाउली आदिलाई नाइट्रोजनको बढी आवश्यकता पर्छ । त्यसै गरी फल खाने बालीहरू फर्सी, काँक्रो, खुर्सानी, टमाटर, भन्टा, खरबुजा आदिलाई फस्फोरसको बढी आवश्यकता पर्छ । कोसे तरकारीहरू बोडी, सिमी, केराउ, भटमास, बकुल्ला आदिलाई नाइट्रोजनको बढी आवश्यकता पर्छ। जरेवालीहरू मुला, गाजर, सलगम, आलु, लसुन, प्याज आदिलाई पोटासको आवश्यकता पर्छ । यसरी करेसाबारीमा तरकारीको प्रकृतिअनुसार मलखादको जोहो गर्नुपर्छ । तरकारी हरियो हुने र तिनमा पानीको मात्रा बढी हुनाले पानीबिना ती ओइलाउने र सुक्ने स्थिति आउँछ । त्यसै हुनाले बढी मात्रामा सिँचाइको आवश्यकता पर्छ । सामान्यतः बिउ उम्रने वेला, बेर्ना सारेका वेला, मलखादको प्रयोगलगत्तै, गोडमेलपश्चात् डुकु आउने, फुल्ने र दाना लाग्ने वेलामा बिरुवालाई पानी नभई हुँदैन । बेर्ना सारेपछि कम्तीमा एक हप्तामा नियमित रूपमा सिँचाइको व्यवस्था हुनु जरुरी हुन्छ । करेसाबारीमा नियमित रूपमा गोडमेल गर्नुपर्छ। यसो गर्नाले लगाएको बाली फस्टाउनुका साथै झारपात उखेल्दा माटो खुकुलो पनि हुन्छ ।
करेसाबारीमा राम्रो व्यवस्थापनका लागि बाली हेरफेर र मल्चिङमा पनि ध्यान दिनु वाञ्छनीय मानिन्छ । फरक मौसममा उही बारीमा विभिन्न प्रकारका बाली उब्जाउ गर्ने अभ्यासलाई बाली हेरफेर भनिन्छ । तरकारीको हरिया पात, फल, फूल, जरा र कन्दमूललाई प्रयोग गर्न सकिन्छ । यस्ता तरकारीलाई फरक मौसममा फरक पारेर लगाउनु राम्रो हुन्छ । कुनै मौसममा मुला लगाएको बारीमा अर्को मौसममा फर्सी या साग लगाउनु र साग लगाएको बारीमा मुला वा गाजर आलोपालो गरी लगाउनु उपयुक्त हुन्छ । यसरी फरक पार्दा माटाको गुणस्तर घट्ने खतरा रहँदैन । सधैं उही मौसममा उही बाली लगाइरहँदा माटाको गुणस्तर घट्न सक्छ । मल्चिङ भनेको माटाको चिसो उम्कन नदिनका लागि बिरुवाको वरिपरि घाँस वा अन्य वस्तुले ढाक्ने काम हो। यसका लागि स्थानीय तहमा पाइने धुस्नु, पात पतिङ्गर आदिले बिरुवाको फेद वरिपरि छोप्नुपर्छ ।
करेसाबारीमा खेती गर्दा बाली संरक्षणमा सजग र सतर्क हुनुपर्छ । करेसाबारीमा आवश्यकताअनुसार वानस्पतिक विषादीको प्रयोग गर्नु उपयुक्त हुन्छ । तिता, टर्रा वा कडा गन्ध आउने आदि विभिन्न किसिमका वनस्पतिलाई मलमूत्रमा कुहाएर बनाइने वानस्पतिक विषादीको प्रयोगबाट करेसाबारी संरक्षण गर्न सकिन्छ । आफ्नो ठाउँमा पाइने तितेपाती, निम, सिस्नु, मेवा, असुरो, धतुरो, बकाइनो, खिर्रो, बोझो, टिमुर, खुर्सानी, सिमली आदिबाट यस्तो विषादी बनाउन सकिन्छ। यी वस्तुका पात तथा मुन्टा जम्मा गरेर ससाना टुक्रा गरेर काट्नुपर्छ । त्यसलाई ड्रममा दुईतिहाइ हुने गरी भर्नुपर्छ । त्यसपछि ड्रमको बाँकी भागमा गहुँत राखेर हावा नपस्ने गरी बिर्काले राम्ररी बन्द गर्नुपर्छ । ड्रमभित्र भएको वनस्पति कुहाउनका लागि मौसमअनुसार २५ देखि ३५ दिनसम्म घाम लाग्ने स्थानमा राख्नुपर्छ । ड्रमभित्र राम्ररी कुहिएर तयार भएको झोललाई छानेर पानीमा मिसाई करेसाबारीमा प्रयोग गर्न सकिन्छ । यस्तो विषादीलाई सानो विरुवाका लागि एक भाग विषादीमा १० भाग पानी हाल्नुपर्छ । ठुलो बिरुवाका लागि एक भाग विषादीमा छ भाग पानी मिसाएर छर्न सकिन्छ । यस्तो विषादी वर्षा मौसममा दुई दिन र हिउँद मौसममा चार दिनको फरकमा प्रयोग गर्नु उपयुक्त हुन्छ। यति गर्दा पनि बालीमा विभिन्न रोग र किराले सताएमा रोग र किराको प्रकृतिअनुसार प्राविधिकसँग सल्लाह लिई उपयुक्त विधि प्रयोग गर्दै रोग र किराबाट बाली बचाउन सजग रहनुपर्छ ।
हामीले आफूलाई आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा उत्पादन गर्नु आवश्यक हुन्छ । यसरी हामीले आफ्नो घर सेरोफेरोको जग्गालाई सदुपयोग गरिराखेका हुन्छौँ । आफ्नै करेसाबारीको तरकारी पकाउँदाका फाइदा छन् । हामीले चुलामा दिउरी वा ताप्के बसाल्न ठिक्क पारेर तरकारी टपाटप टिपेर केलाई मिठा र ताजा तरकारीका विभिन्न परिकार हाम्रा भान्सामा तयार पार्न सक्छौं । यसबाट महँगो र विषादीयुक्त तरकारी किन्नुपर्ने अवस्थाबाट मुक्ति मिल्छ । आफ्नो मिहिनेत अनि पसिना मिसिएको स्वादिलो तरकारी खान पाइन्छ । यस्तो तरकारी खानुको स्वाद र मज्जा नै बेग्लै हुन्छ । त्यति मात्र होइन, करेसाबारीमा काम गर्दा व्यायाम, मनोरञ्जन र समयको समेत सदुपयोग हुन्छ । यसो गर्दा ताजा तरकारी उब्जाएर खान पाइने, तरकारी किन्ने खर्चको बचत हुने र बढी भएको तरकारी बिक्री गरेर आम्दानी लिन पनि सकिन्छ । अझ उत्पादन गरेका हरिया, ताजा र विषादीरहित तरकारी खाँदा विभिन्न रोगबाट बच्न सकिन्छ । त्यसैले यसलाई ‘घर घरमा करेसाबारी, खाऔं ताजा तरकारी’ अभियानकै रूपमा अगि बढाउनु जरुरी छ ।

शब्दार्थ
प्रजाति : प्राणी वा वनस्पतिका प्रमुख जातिको कुनै शाखा
प्राङ्गारिक : पातपतिङ्गर कुहाएर बनाइएको
सुकों : जग्गाको सानो भाग वा गरो
थाँको : काँक्रो, घिरौंला आदिका लहरालाई फैलिन वा झाँगिनका लागि भुइँमा गाडिने काठको अडेसो
अवशेष : उपयोगमा आएर बाँकी वा शेष रहेको वस्तु
बेर्ना : रोप्न वा सार्ने अवस्थाको सानो बिरुवा
छापो : बाली उमार्न र जमिन चिसो राख्न बिछ्‌याइएको घाँसपात आदि
उत्पादकत्व : उत्पादन गर्ने अवस्था, उत्पादनको गुण, उत्पादन शक्ति
कन्दमूल : माटामुनि जराका रूपमा फल्ने तरुल, आलु, पिँडालु आदि फल
धुस्नु : पराल आदिको टुक्राटाक्री
सजग : सचेत, सावधान
विषादी : विषयुक्त

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top